घानामा दुर्घटनामा परेका नेपाली मुलुक फिरे

17/07/2013 05:11

तालिमका सिलसिलामा घाना पुगेका बेला दुर्घटनामा परेका एक नेपाली नेपाल फिरेका छन् । नेपालबाट ’स्वच्छ पानी’ सम्बन्धी तालिम लिन घानाको तामाले पुगेका राजेश अधिकारी सडक दुर्घटनामा परेका हुन् । 

उनी जुलाई १० मा नेपाल फिरेका हुन् । नेपालमा उनको प्रारम्भिक परीक्षण अन्नपूर्ण न्युरो हस्पिटलमा थालिएको छ । उनी केही दिनमा मात्र घर जाने छन् । 

सधैंजस्तो अन्तिम दिन (मे १ तारिख) को तालिम सकेर सडकमा निस्केका तीन जना (दुई बंगलादेशी र एक नेपाली) मध्ये राजेश अधिकारी घाइते भएका हुन् । उनका साथ रहेका एक बंगलादेशीको मृत्यु भएको छ । उनको मस्तिष्कको देब्रेतर्फ चोट लागेको थियो । आन्तरिक रक्तश्राव नभएकाले शल्यक्रिया गर्ने नपर्ने र मस्तिष्कले राम्ररी काम गरेको पाइएको थियो ।  अधिकारीलाई तामाले हस्पिटलको आइसियुमा राखियो र उपचार गरियो । अधिकारी नेपालको गैर-सरकारी संस्था ’एन्फो’ (इएनपिएचओ)का लागि उक्त तालिम लिन घाना पुगेका थिए । 

डा. हरि बाँस्कोटा र एनआरएन विमल तण्डुकारलगायत धेरै देशी-विदेशी मित्रहरूले उनलाई निकट रहेर मद्दत गरेको नाइजेरियामा रहेका हिक्मत थापाले जनाएका छन् ।