अफ्रिकी कम्पनी डांगोटेले लगानी गर्ने अनुमति पायो

16/11/2013 10:38

लगानी बोर्डले नाइजेरियाको डांगोटे कम्पनीलाई नेपालमा सिमेन्ट उद्योग खोल्ने अनुमति दिएको छ । करिब १ बर्षअघि नेपालमा सिमेन्ट उद्योग खोल्न अनुमति माग प्रस्ताव पेस गरेको उक्त कम्पनीलाई शुक्रबार बसेको बैठकले उद्योग स्थापनाको अनुमति दिएको हो । “ लगानीका लागि अब आइपर्ने अन्य विषयमा पनि डांगोटेलाई बोर्डले सहयोग गर्नेछ,” अधिकृत राधेशपन्तले भने “ अब डांगोटेले कम्पनी दर्ता गरी उद्योग स्थापनाको चरणमा जाने बाटो खुलेको छ । ” आजको कान्तिपुरले लेखेको छ । 
ठूला आयोजना भित्राउनका लागि आफै प्रस्तावना लिएर आएको उक्त कम्पनी पहिलो हो । बोर्डले आफू मातहत ल्याएका १४ आयोजना मध्ये बोर्ड गठन हुनु अघि कुनै न कुनै रुपमा चर्चा भइरहेकै आयोजना थिए । डांगोटे भने बोर्ड गठनपछि आफै लगानी प्रस्ताव लिएर आएको थियो । लगानी बोर्डले केहि समयअघि भारतको सतलज कम्पनीलाई पनि अरुण तेस्रेंमा लगानी गर्न स्विकृत दिएको थियो । ८० अर्ब रुपैयाँको लगानी सतलजले गर्ने प्रस्ताव बोर्डको आएको थियो । उक्त आयोजना बैदेशिक लगानी ( एफडीआइ) स्वीकृत भइ उद्योग विभागमा गत महिना दर्ता भइसकेको छ । 
अब डांगोटेले पनि उद्योग विभागमा कम्पनी दर्ता भइ प्रक्रिया अगाडि बढाउनु पर्नेछ । “करिब ७० अर्ब रुपैयाँको लगानीमा तत्परता देखाएको डांगोटेले पनि अब सोहि प्रक्रिया अपनाउन पाउने भएको हो ।” पौडेलले भने । 
डांगोटेले सुरुमा ७० अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको थियो । पछि २ चरणमा लगानी गर्ने उसले बनाएको छ । सुरुमा करिब ५५ अर्ब रुपैयाँको लगानी डांगोटेले गर्नेछ । अनुमति पर्खिरहेको डांगोटेले अब संम्भावित क्षेत्र पहिचान गर्नेछ । उसले आफ्नै खानी हितको उद्योग स्थापना गर्ने प्रस्ताव समेत गरेको छ ।